नुवाकोट शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को तयारी पुरा, स्थानीय सामग्रीका २४ स्टल रहने
नुवाकोट, पुस २८ । यही पुस २९ र माघ १ गते हुने शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को तयारी पुरा भएको छ ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले हुन लागेको दुई दिने महोत्सवमा स्थानीय स्तरका सामान बिक्रीवितरणका लागि २४ वटा स्टल तयार गरिएको आयोजक शिवपुरी गाउँपालिका वडा नम्बर ६ ले जनाएको छ ।
स्टलको आकर्षणको रुपमा गुन्द्रुक, बेसार र भीर माहुरीको महको अलावा तरुल, लोकल कुखुरा, लोकल दही, दुध, घिउ समेत प्रदर्शनी स्टलमा राखिने वडा नम्बर ६ का जनप्रतिनिधि कमल लामा(नुवाकोटे टाइगर) ले जानकारी दिए ।
महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, रमाइलो मेला, स्थानीय उत्पादन र आयातीत वस्तुका स्टल, रेस्टुरेन्ट सञ्चालनको समेत तयारी गरिएको छ ।
महोत्सवमा चर्चित लोक गायक उद्दब कार्की, गायिका शान्ति श्री परियार, लोक गायक प्रनिल तामाङ, हास्य कलाकार जीवन तामाङ लगायतको प्रस्तुति रहनेछ । आयोजक शिवपुरी गाउँपालिका वडा नम्बर ६ ले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर महोत्सवको मुख्य ठाउँमा ‘मेड इन शिवपुरी’ नाम दिएर स्थानीय स्तरमा उत्पादित डोको, डालो, मान्द्रो, भकारी तथा हसिया, खुर्पा कोदालो, कोदाली समेत सुपथ मूल्यमा बिक्री कक्षमा राखिनेछ ।
त्यस्तै स्टलमा स्थानीय उत्पादनको रूपमा राखिएको मकैको पिठो, कोदाको पिठोलगायतका वस्तुहरू महोत्सवको मुख्य आकर्षणको रुपमा रहनेछ ।