प्राधिकरणले अघि बढायो ६० अर्बको आइपिओ निष्कासन प्रक्रिया: अर्थ मन्त्रालयको सहमति, प्रतिकित्ता कति तोकियो मूल्य ? 



काठमाडौँ,पुस २९ । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको आइपिओ निष्कासनको सरकारी स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ । 

अर्थमन्त्रायले गत मङ्सिरमै नेपाल विद्युत् प्राधिकरणलाई अधिकृत चुक्ता पुँजी १ खर्ब २५ अर्बबाट ३ खर्ब पुर्‍याउन सहमति दिइसकेको छ ।

मन्त्रालय सहमति दिएपछि  प्राधिकरणले मङ्सिर २५ गतेको सञ्चालक समितिको बैठकमा यसबारे निर्णय गरिसकेको छ । त्यसपछि ६० अर्बको आइपिओ निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाएको छ । प्राधिकरणले गत पुस १९ गते यो प्रस्ताव ऊर्जा मन्त्रालयमा पेस गरिसकेको छ । अब ऊर्जा मन्त्रालयले नै यो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछ, मन्त्रीपरिषद्को निर्णय पछि प्राधिकरणले आइपिओ निष्कासन थप प्रक्रिया अघि बढाउने छ ।

प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने योजनामा छ । चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव गरिएको छ । 

प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको छ । त्योअनुसार प्राधिकरणको एक कित्ता शेयरलाई २५० रुपैयाँ पर्नेछ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरिसकेको छ ।

सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने तयारी प्राधिकरणको छ । आईपीओबाट आउने पैसा बुढी गण्डकी जलविद्युत् आयोजनामा लगानी गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस्