नुवाकोटको शेराबगरमा गोरुको लडाइँ
नुवाकोट,माघ १ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित शेराबगरमा बृहत् गोरु जुधाई कार्यक्रम भएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा सोमबार श्री शेराबगर विकास समाजले बृहत् गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ ।
माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्पराको रूपमा गोरु जुधाउने मेलालाई लिने गरिन्छ । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । नुवाकोटमा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।
नुवाकोटकै तारुका, रसुवाको वेत्रावतीका साथै रसुवा र धादिङका सिमानामा पनि हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाउने गरिन्छ ।