नुवाकोट शिवपुरीको गोरु जुधाईमा पञ्चकन्याका बिष्णु लामिछानेको ‘माले’ गोरु प्रथम



नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई प्रतियोगितामा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका बिष्णु लामिछानेको ‘माले’ गोरु प्रथम भएको छ।

प्रतियोगितामा तीन हल गोरुको प्रतिस्पर्धा गरिएको थियोे ।प्रतियोगितामा प्रथम हुन सफल गोरु धनी लामिछानेलाई नगद ३० हजारसहित सम्मान गरिएको छ ।

त्यस्तै प्रतियोगितामा शिवपुरीका राजेन्द्र थापाको गोरु दोस्रो र श्याम डङोलको गोरु तेस्रो भएको छ । दोस्रो र तेस्रो हुन सफल गोरु धनीलाई नगद क्रमशः २० हजार र १० हजार प्रदान गरिएको सेराबगर समाजका अध्यक्ष अभियान आचार्यले बताए । उनका अनुसार अन्य सहभागी गोरु धनीलाई समेत बाटो खर्च वापत नगद २/२ हजार प्रदान गरिएको छ ।

गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री प्रकाश शरण महतको उपस्थिति रहेको थियोे ।अर्थमन्त्री महतले कार्यक्रमको सम्बोधनका क्रममा नुवाकोटमा बाटोले विकासको सम्भावना खुलेको बताएका छन् । महतले मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना नभएको पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना रहेको बताए । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर डाक्टर महतले प्रस्ताव राखेको जिकिर गरे । अर्थमन्त्री महतले भने- ‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’

मन्त्री डा. महतले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँमा पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो । अब विकास कसैले रोक्न सक्दैन त्यसको लागि योजना अगाडि बढिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्