‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’
काठमाडौं,माघ ३ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।
जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो ।
ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए । ‘हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरूलाई मंगलबार साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ,’ प्रवक्ता पौडेलले भने । निगमको अन्तरराष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ ।
निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौंबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो । रासस