सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर



म्याग्दी,माघ ३ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/पाँच वर्षअघिसम्म गुमनामजस्तै थियो । पुष/माघ महीनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैनथे । पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटक आउन थालेका छन् ।

रत्नेचौरको भानु माविका पूर्व प्रधानअध्यापक रहेका स्थानीयवासी टीकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताउँछन् । ‘रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,’ उनले भने, ‘रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो । पहिला प्रवर्द्धन गर्ने प्रविधि थिएन । सबैको हातमा प्रविधिको पहुँच पुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुन्दर ठाउँ चिनिएका छन् ।’ 

समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेंलपुर फुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्वीरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले बताइन् ।  ‘तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौं,’ उनले भने, ‘एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।’ 

बेनी र बागलुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुम्न बालबालिका, युवायुवतीदेखि पाका उमेरका पनि आउँछन् । दैनिक दुई सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुशल शर्माले बताए । ‘बिदाको दिन तोरीबारी हेर्न आउनेको घुइँचो नै लाग्छ,’ उनले भने, ‘अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन् ।’ 

म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको छ । रत्नेचौरको फेदी भुवानेमा दुईओटा होटल र रेष्टुरेन्ट खुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ । 

परम्परागत रूपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएको बेनी नगरपालिका–१ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुुर थापाले बताए । ‘रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि सारेका छौं,’ उनले भने, ‘श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्