जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता



सिन्ह्वा,माघ ३ । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा बाजिमा सहरले थप १० जनाको ज्यान गएको जनाएको छ । बाजिमा सहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।

स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल बाजीमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।

उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो । भूकम्पमा परी बाजिमा सहरमा १७ र सुजु सहरमा चार जना गरी कूल २१ जना अझै बेपत्ता रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरण अनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्याङ्कनहरू गर्दा प्रभावित भवनहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्