वर्षा न्यून, ठूलो वर्षाको छाँटकाँट छैन



काठमाडौं,माघ ८ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरे पनि आजका मितिसम्म खासै वर्षा हुनसकेको छैन ।

हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० ओटा मापन स्टेशनको तथ्याङ्कमा चार दशमलव पाँच प्रतिशत मात्रै वर्षा भएको छ । देशभर कुल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताए । 

‘यो औषतभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन,’ उनले भने, ‘ हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ।’ 

उनका अनुसार अहिले वर्षा हुने देखिएको छैन । मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६० दशमलव एक मिलिमिटरलाई औषत वर्षा मानिएको छ । 

सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा कम भयो भनेर यो यामभरिकै विश्लेषण गर्ने बेला भने नभएको बताए । यसपाली नेपालमा मात्रै होइन, भारतको हिमालयन क्षेत्रमा पनि प्रक्षेपण नमिलेको बताउँदै उनले जलवायु परिवर्तनको असरलगायत कारण वर्षामा असर पारिरहेको जिकिर गरे । 

‘मुख्य त पश्चिमी वायुको असरले नै वर्षा गराउने हो । अहिलेसम्म सक्रियरूपमा वर्षा देखिनु पर्ने हो । तर, देखिएको छैन,’ उनले भने  । पछिल्लो हप्ता चिसो भने बढेको उनले बताए । 

यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ । यो याममा मात्रै होइन, वर्षाका बेलामा पनि मौसम घटबढ देखिएको उनले बताए । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परिरहेको छ ।

आउँदो २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा असर पर्न सक्ने जनाइएको छ । 

त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्