चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु



बेइजिङ (चीन),माघ ११ । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधवार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

मुलुकको सरकारी प्रसारक सीसीटीभीले भनेको छ, ‘जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।’

रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनामा ‘दृढ नियन्त्रण’ को आह्वान गरे ।  

सीसीटीभी रिपोर्टका अनुसार सिले निर्देशन जारी गर्दै भने, ‘मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनालाई रोकथाम गर्न आवश्यक छ ।’

घटनास्थलको सीसीटीभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारी सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमान्ड आगलागी भएपछि स्थानीय अधिकारीले स्थापना गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।’ रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्