ओलीद्वारा नुवाकोटका बाढीपीडितलाई १८ अस्थायी आवास हस्तान्तरण
नुवाकोट,असोज २९ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारको ठूलोगाउँमा बाढीपीडित परिवारका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास हस्तान्तरण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा निर्माण गरिएका आवास बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।
आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले बाढीबाट घरबारविहीन भएकाहरूको पुनःस्थापनामा सरकारले ढिलाइ गरिरहेको बताए। विपद् तथा जटिल परिस्थितिमा सरकारी संयन्त्र विशेष रूपमा परिचालन हुनुपर्नेमा जोड दिँदै उनले बाढी गएको डेढ महिनासम्म पनि पुनःस्थापनाका विषयमा ठोस निर्णय नआउनु दुःखद भएको बताए।
जाडोयाम सुरु भइसकेकाले बाढीपीडितको पुनःस्थापनाका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याएर काम गर्नुपर्ने ओलीको भनाइ थियो।
जिफन्टले पहिलो चरणमा निर्माण गरेका १८ वटा अस्थायी आवास हस्तान्तरण गरेको हो। महासंघले थप १८ वटा आवाससमेत केही दिनभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ। यससँगै पिपलटारमा जिफन्टको पहलमा ३६ वटा अस्थायी आवास निर्माण हुनेछन्।
प्रत्येक अस्थायी आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधाको व्यवस्था गरिएको छ। आवास निर्माण अभियानमा जिफन्टका स्वयंसेवकहरू सक्रिय रूपमा सहभागी भएका थिए।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विपद्का बेला सहयोग गर्ने उद्देश्यसहित स्वयंसेवकहरूको सक्रियतामा छोटो समयमै अस्थायी आवास निर्माण गरिएको बताए। महासंघले विपद्बाट प्रभावित परिवारलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले आवास निर्माण अभियान सञ्चालन गरेको जनाएको छ।

