राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं,माघ ११ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९औं वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न भएको छ ।कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको दिशामा रहेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने लाग्नुपर्ने आवश्यकता औंल्याए । अर्थमन्त्री महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रूपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्दै आएको भन्दै प्रशंसा गरे । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुंगानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा बढ्दै गएका ग्राहकका आकांक्षा परिवर्तन भइरहेको सन्दर्भमा बैंकले ठूला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकांक्षालाई सम्बोधन गरेको बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदैै बैंकले आफ्ना सम्पुर्ण स्रोतको उच्चतम उपयोग गरी बैंकको समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदमहरू चालेको बताए । बैंकका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारका सम्पूर्ण सेवा तथा सुविधा बैंकले उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । कार्यक्रममा पूर्व गभर्नर तथा बैंकका पूर्व कार्यकारी अध्यक्ष डा.तिलक रावल, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ (रा.वा.बैंक)का अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन (रा.वा. बैंक)का अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले धारणा राखेका थिए । कार्यक्रममा पूर्वकर्मचारी, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो । 

५९ औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४७७ जना रक्तदाताले रक्तदान गरेको बताइएको छ । साथै सो सन्दर्भमा काठमाडौं तथा सातओटै प्रादेशिक कार्यालयले वित्तीय साक्षरताका लागि प्रभातफेरि कार्यक्रम गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्