राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी



काठमाडौं,माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक–एक वटा मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र तोकेको छ ।

बिहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा विभिन्न आठ राजनीतिक दलका ५१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता छन् ।

निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जनाएको छ । तीमध्ये प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभार छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ छ । निर्वाचनमा जम्मा मतभार ५७ हजार ५ सय ५९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्