भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु



मुगु,माघ ११ । मुगु जिल्लाको सोरुगाँउपालिका – ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीय कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले बताए ।

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।

गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्य चौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्