दुई पटक प्रतिनिधि सभा चुनाव हारेका कांग्रेस नेता सिटौला राष्ट्रिय सभाबाट ६ वर्षपछि संसदमा



काठमाडौं,माघ १२ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला विजयी भएका छन् । उनले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवार उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाउँदा पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

यससँगै सिटौला ६ वर्षपछि सांसद् बन्न सफल भएका हुन् । उनी पछिल्ला दुई (२०७४ र २०७९) प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । उनी पछिल्लो पटक २०७० सालको प्रतिनिधिसभा सदस्य पदमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्