नेपालमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने



काठमाडौं,माघ १२ । नेपालमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता (टप रोप इडिशन) आयोजना हुने भएको छ । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएशन र युएस नेपाल क्लाइम्बर्स एशोसिएशनले आगामी सोमवार प्रतियोगिता आयोजना गर्न लागेका हुन् । 

प्रतियोगिताबारे जानकारी दिन बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा युएस नेपाल क्लाइम्बर्स एशोसिएशनका संस्थापक अध्यक्ष सेराप जाङबु शेर्पाले बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए । उनले प्रतियोगितामा सहभागिताका लागि आह्वान गरे ।

उनले प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने बताए । अमेरिकामा पनि टप रोप इडिशनको आयोजना गर्दै आएकोले यस पटक आफ्नै देशमा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएशनसँग मिलेर तेन्जिङ नोर्गे शेर्पाको नाममा प्रतियोगिता गर्न लागेको उनको भनाइ छ । 

युएस नेपाल क्लाइम्बर्स एशोसिएशनका कोषाध्यक्ष लाक्पा नुरु शेर्पाले आरोहणको खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । 

प्रतियोगिताअन्तर्गत पुरुष र महिलाको छुट्टाछुट्टै खेल हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्