चियाको ‘रेसिपी’बारे अमेरिका र बेलायतका जनताबीच विवाद, विवाद सुल्झाउन अमेरिकी दूतावासले जारी गर्‍यो विज्ञप्ति !



बेलायत,माघ १२ । चियाको ‘परफेक्ट रेसिपी’ के हो ? यसको सटिक जवाफ दिन गाह्रो छ । किनकि ठाउँअनुसार चियाको ‘रेसिपी’ फरक छ । 

यही ‘रेसिपी’बारे हालै अमेरिका र बेलायतका जनताबीच विवाद भएको छ । एक अमेरिकी प्रोफेसरले चिया बनाउँदा नुन थप्न सल्लाह दिएपछि दुवै देशका जनताबीच विवाद बढेको हो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेन्सिलभेनियाको एक निजी संस्थानमा रसायनशास्त्रका प्राध्यापक मिशेल फ्रान्केलले चियामा नुन थप्न सुझाव दिएका थिए । उनले चियामा नुन मिसाउँदा यसको तीतोपन कम हुने बताएका थिए । 

उनको सुझावमा बेलायतका जनताले फरक मत राखेपछि यसबारे सामाजिक सञ्जालमा विवाद देखियो । पछि विवाद समाधानका लागि बेलायतस्थित अमेरिकी दूतावासले यस विषयमा विज्ञप्ति नै जारी गर्नुपर्‍यो । 

अमेरिकी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मा वक्तव्य जारी गर्दै चियामा नुन राख्नु अमेरिकाको आधिकारिक नीति नभएको जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘अमेरिकी दूतावासले सही तरिकाले माइक्रोवेभमा चिया बनाउने काम जारी राख्नेछ ।’ 

त्यसो त यी दुवै देशबीच यसअघि पनि चिया बनाउने विषयमा बहस हुँदै आएको थियो । नेपाल, भारतलगायत देशमा चिया निकै रुचाइन्छ । बेलायत र अमेरिकामा पनि यो पेय पदार्थ प्रचलित छ । चिया बेलायतको राष्ट्रिय पेय मानिन्छ । एक अध्ययनअनुसार बेलायतमा हरेक दिन करीब १० करोड कप चिया पिइन्छ ।

त्यसो त यो पेय पदार्थ ठाउँअनुसार फरकफरक तरिकाले पकाइन्छ । बेलायत र अमेरिकामा पनि चिया बनाउने तरिका फरक छ । बेलायतका जनताले चिया बनाउन कित्ली प्रयोग गर्छन् भने अमेरिकीले माइक्रोवेभमा चिया बनाउन रुचाउँछन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्