कांग्रेसको धर्म देशको हित गर्नु हो : महामन्त्री थापा



काठमाडौं,माघ १२ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्ने बताएका छन् ।  शुक्रबार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका हुन् । 

उनले कांग्रेसको धर्म भुईँमा बसेका जनताहरूलाई माथि उठाउने भएको पनि बताए । उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरू सरकार अथवा भुईँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताए । महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए । निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पारे।

उनले भने, ‘‘नेपाली कांग्रेस पार्टी बनेको कुनै एउटा निर्वाचन हुन्छ। निर्वाचन जित्छौँ। निर्वाचन हार्छौँ। हामी कहिलेकाहीँ २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौँ। कांग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो। एउटा पक्ष मात्रै हो। जसरी पानीको धर्म छ। आगोको धर्म छ। रुखको धर्म छ। सूर्यको धर्म ताप दिनु हो। पानीको धर्म चिसो बनाउनु हो। आँत भिजाउनु हो। कांग्रेसको धर्म यो देशको हित गर्नु हो। यो देशको भुईँमा बसेका जनताहरूलाई माथि उठाउने यसको धर्म हो। यो धर्म निर्वाह गर्ने हो। यो धर्म निर्वाह गर्दाखेरी हामी सरकारमा बसौँला, नबसौँला, भुईँमा बसौँला, चकटीमा बस्नुपर्ला। जहाँ बस्नुपर्ला।’’

प्रतिक्रिया दिनुहोस्