धरहरा पार्किङ् भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ् गर्न पाईने



काठमाडौँ,माघ १४ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको महानगरले जनाएको छ । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ,‘यस अघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ ।’ पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । 

सहिद गेटबाट नयाँ सडक जाँदा गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।  संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो । 

प्रतिक्रिया दिनुहोस्