इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि, ६ महिनामा ८५ हजार पर्यटक इलाम पुगे



फिक्कल,माघ १४ । इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो ।

पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्यांकअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ छ महिनामा ८५ हजार ३२६ जना पर्यटक इलाम भित्रिएका हुन् । गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार ५४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले राससलाई जानकारी दिए ।

गत साउनमा १ हजार २८९, भदौमा ९१८, असोजमा २ हजार १४५, कात्तिकमा १८ हजार ३०३, मङ्सिरमा २६ हजार ५४८ र पुसमा ३६ हजार १२२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

पर्यटन सूचना केन्द्रका अनुसार जोरकलश हुँदै गत आव २०७९/८० मा १ लाख ३३ हजार ४४५ जना पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/०७९ मा १ लाख २९ हजार ५८१ जना पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७७/७८ मा २९ हजार ८११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्यांक  छ ।

‘उल्लिखित तथ्यांक जोरकलश प्रवेशद्वारबाट जिल्ला भित्रिएका पर्यटकको मात्र हो । जिल्लाका अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट पर्यटक भित्रिने गरेका छन्’, सूचना अधिकारी घिमिरेले भने, “कोरोनाकालपछिको पछिल्लो ३ वर्ष जिल्ला भित्रिने पर्यटकहरुको संख्या दिनानुदिन बढिरहेको छ ।’

इलामका पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्