धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १५०० मोटरसाइकल राख्न सकिने 



काठमाडौँ,माघ १५ । न्युरोड जाने सवारी धनीहरूका लागि काठमाडौँ महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान नि:शुल्क उपलब्ध गराएको छ । यो सङ्ख्या साबिक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको सङ्ख्याभन्दा धेरै हो । 

अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन् । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डे भन्छन्,‘यससँगै काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो नि:शुल्क पार्किङ सेवा हो । यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरू छन् । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ ।’ पाण्डेका अनुसार आज धरहराको पार्किङ भवनमा करिब ९ सय जना सवारी चालकले नि:शुल्क पार्किङको सेवा लिए ।

महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेल अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्थ्यो । जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सय वटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रे, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महाबौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो । त्यसैअनुरूप पार्किङ हुने गरेको थियो ।

महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ । सडक किनारामा पैदल यात्रीले सहजतापूर्वक हिँड्न पाउने खरेलको भनाइ छ ।कालोपत्रे सडकलाई सवारी आवागमनका लागि मात्र प्रयोगमा ल्याउन महानगरपालिकाले यस्ता ठाउँलाई पार्किङ निषेध गरिरहेको छ । यस क्रममा माघ ९ गतेदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो । यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्