सुदूरपश्चिम रोयल्ससँग जनकपुर बोल्ट्स २७ रनले पराजित
काठमाडौं,कात्तिक २५ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रेन्डन म्याक्मुलेनले सर्वाधिक ३३ रन बनाए। थरिन्दु रत्नायके २६ रनमा अविजित रहे। आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १० रन जोडे।
बलिङतर्फ जनकपुरका कप्तान हरमित सिंहले चार विकेट लिए। आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक विकेट लिए।
१२१ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१ रन बनाए। जिमी निसमले २०, राहुल यादवले ११ तथा आदित्य महताले १० रन जोडे। जनकपुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
जिमी निसम र ललित राजवंशीबीच नवौँ विकेटका लागि भएको २० रनको साझेदारी जनकपुरको इनिङ्सकै ठूलो साझेदारी बन्यो।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक तीन विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ।

