आज भाइटीका मनाइँदै, शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा



काठमाडौं, कात्तिक २५ । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्नेछ। समितिका अध्यक्ष प्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम मानिएको छ। यद्यपि, सर्वसाधारणले मध्याह्नकालमा अन्य समयमा पनि भाइटीका लगाउन सक्ने समितिले जनाएको छ।

यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु भएको थियो। सोही दिन धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिएको थियो। कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती, २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको थियो।

त्यस्तै, कात्तिक २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइएको थियो। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ भएको छ।

यमपञ्चकको अन्तिम दिन आज यमद्वितीया अर्थात् भाइटीका मनाइँदैछ। भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका, माला तथा उपहार प्रदान गर्ने परम्परा रहेको छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ।

तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ। यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनकी देवी लक्ष्मीको आराधना गरिन्छ। भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्