चितवनका १७१ निजी वन व्यवस्थापनमा



चितवन,माघ १६। जिल्लामा दर्ता भएका २५९ निजी वनमध्ये १७१ ओटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय, चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वनमध्ये १७१ वन व्यवस्थापनमा छन् । 

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो निजी जग्गामा संरक्षण गरी वा नयाँ वृक्षरोपण गरी हुर्काएका बिरुवालाई निजी वन भन्ने गरिन्छ । ‘यस्ता वनमा निजी वन धनीले आफ्नो इच्छा अनुसार वनको विकास, संरक्षण, व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न मूल्य निर्धारण गरी विक्री वितरण गर्न सक्नेछन्,’ उनले भने ।  

जिल्लामा दर्ता भएका निजी वनको अनुगमनका क्रममा वन दर्ता गरी बिरुवा रोपणपछि वन व्यवस्थापनको क्रियाकलाप नभएको पाइएको कार्कीले बताए । ती वनमा अनुगमन, निरीक्षण र विस्तृत नापजाँचपछि बोटबिरुवाको लगत कायम गरी अद्यावधिक गर्नुपर्ने उनले जानकारी दिए ।  

निजी वनको सम्भाव्यता बढी देखिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख कार्कीले निजी वन प्रवर्द्धनका लागि वन धनीलाई स्थान सुहाउँदो बोटबिरुवा वितरण गरी व्यावसायिक रूपमा विस्तार गर्न सकिने बताए । निजी वन व्यवथापनमा देखिएका चुनौती समाधान गर्दै अघि बढ्न सके प्रभावकारी व्यवस्थापन हुने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्