कोरोना बीमाको पैसा दिलाइदिन भन्दै लेखा समितिमा बीमा कम्पनीहरुको हारगुहार



काठमाडौं,माघ १७ । आफ्ना ग्राहकले पाउनु पर्ने भुक्तानी वर्षौंदेखि प्राप्त गर्न नसकेको भन्दै बीमा कम्पनीहरुले संसदको सार्वजनिक लेखा समितिमा हारगुहार गरेका छन् । कम्पनीहरुमा कोरोना बीमा गरेर दाबी प्रस्तुत गरेका सवा लाख मानिसहरुले अझैसम्म रकम भुक्तानी पाउन सकेका छैनन् ।

तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा कोभीड बीमाको दायित्व व्यवस्थापनका लागि एक खाका तयार पारिएको थियो । त्यसमा ३५ हजार वटासम्म दाबीका परेमा सम्बन्धित बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, महाविपत्ति कोष र बीमा समिति (हालको प्राधिकरण)ले व्यहोर्ने व्यवस्था गरियो ।

त्यसभन्दा पछि जति दाबी आउँछ, त्यो रकम नेपाल सरकारले व्यहोर्ने सहमति बनेपछि २०७७ जेठ २३ बाट नयाँ ढंगले बीमा योजना अघि सारिएको थियो । तर सुरुको दायित्व बहन गर्ने सबै पक्षले ३५ हजार बीमितको दाबी भुक्तानी गरिसकेको भए पनि त्यसपछि भने समस्या आएको छ । अहिले पनि सरकारले यस्तो बीमाबापत करीब १२ अर्ब भुक्तानी गर्न बाँकी भएको नेपाल बीमक संघले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको साझा संस्था संघले मंगलबार उक्त विषयमा विशेष निर्देशन माग गर्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा निवेदन दर्ता गराएको छ । संघका महासचिव एवम् नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काका अनुसार लामो समयसम्म सरकारले पैसा निकासा नगरेर आफ्ना ग्राहकलाई भुक्तानी दिन नसकेपछि बाध्य भएर संसदीय समिति गुहार्नु परेको हो ।

संघका अध्यक्ष चंकी क्षेत्री र महासचिव खड्काले हस्ताक्षर गरेको उक्त निवेदन मंगलबार लेखा समितिको सचिवालयमा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्