भोटेकोशी–त्रिशूली बाढीका २ हजार ४६५ बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा
काठमाडौं,कात्तिक २५ । गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा २ हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। १७१ विदेशी नागरिकसहित उक्त सङ्ख्याका बेपत्तालाई मन्त्रिपरिषद्बाटै मृत घोषित गर्न लागिएको हो।
दशकौँदेखि कानुनी उल्झनका कारण बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न तीनदेखि पाँच वर्षसम्म पर्खनुपर्ने वा अदालतको न्यायिक प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। तर, गत असोज २३ गते जारी विपद्सम्बन्धी अध्यादेशमार्फत ऐन संशोधन भएपछि इतिहासमै पहिलोपटक सरकारले विपद्मा बेपत्ता भएका व्यक्तिलाई प्रत्यक्ष मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो चरणमा मृत घोषणा गर्न सिफारिस गरिएका व्यक्तिहरू जीवित फेला परेको भए सात दिनभित्र दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र कुनै दाबी नपरे प्राधिकरणको कार्यकारी समितिले मन्त्रिपरिषद्मा सिफारिस पठाउनेछ।
मन्त्रिपरिषद्को निर्णयपछि पीडित परिवारले स्थानीय वडा कार्यालयबाट कुनै विलम्ब शुल्क नतिरी सहज रूपमा मृत्युदर्ता प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्। त्यसलगत्तै जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
मृत घोषित व्यक्ति पछि जीवितै भेटिएमा उक्त निर्णय बदर गर्न सकिने कानुनी व्यवस्था पनि गरिएको छ।
प्राधिकरणका अनुसार भोटेकोशी–त्रिशूली बाढीमा कुल पाँच हजार २८६ जना बेपत्ता भएको विवरण छ। बेपत्तामध्ये ६३६ जना विदेशी नागरिक रहेका छन्। पहिलो चरणमा ३१ जिल्लाका दुई हजार २९४ नेपाली र सात देशका १७१ विदेशी नागरिकलाई मृत घोषणा गर्ने प्रक्रियामा समेटिएको छ।
बाँकी बेपत्ताका सम्बन्धमा तिहारपछि दोस्रो चरणको सार्वजनिक सूचना जारी गरी प्रक्रिया अघि बढाइने जनाइएको छ।

