नेपालमै छाप्न थालियो हुलाक टिकट
काठमाडौं,माघ १७ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ ।
यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो ।
जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।