व्यवसायी अरुण चौधरी पक्राउ, सीआईबीले पुर्‍यायो महाराजगन्ज



काठमाडौं,माघ १८ । चौधरी ग्रुप को सहायक कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी) ले उनलाई बिहीबार पक्राउ गरेको हो । उनी हिमालयन ब्रुअरीका पनि मालिक हुन् । यो कम्पनीले आइसबर्ग, काठमाडण्डू, निन्जा र कमान्डोजस्ता ब्राण्डमा बियर उत्पादन गर्छ । उनी नेपालका लागि हंगेरीका अवैतनिक महाबाणिज्य दूत पनि हुन् ।

प्रहरीले उनलाई बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धि विबादमा गिरफ्तार गरेको हो । यसअघि उनीविरुद्ध उद्योगको जग्गा हडपेको आरोप लागेको थियो । सीआईबीले सामान्य सोधपुछका निम्ति उनलाई पक्राउ गरेको बताए को छ ।

सीआईबीको विशेष टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।उनका साथै प्रहरीले प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको छ । उनलाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अरुण चौधरी ग्रुपका सञ्चालक हुन् ।

डलर अर्बपति ब्यवसायी विनोद चौधरीका दुई भाइमध्ये अरुण एक हुन् । उनका बुबा लुनकरणदास चौधरीले सन् १९६६ मा अरुण इम्पेक्स र १९६८ मा अरुण इम्पोरियम उनकै नाममा खोलेका थिए । त्यहीँबाट चौधरी परिवारले आधुनिक ढर्राको ब्यापारमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्