देशैभरको संस्कृति एउटै मञ्चमा, ‘नेपाल कल्चर फेस्टिवल’ फागुनको २४ र २५ गते नेपालगन्जमा हुने



बाँके,माघ १९ । देशैभरको संस्कृति एउटै मञ्चवाट प्रस्तुत गर्ने उद्देश्य सहित नेपाल कल्चर फेस्टिवल आगामी फागुनको २४ र २५ गते नेपालगन्जमा हुने भएको छ । कल्चर फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचार प्रसार गरिनेछ । 

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् ।  सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम सम्म, तराइको थारु र अवधि नृत्य/गीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाण्डौ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजा देखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ । भने, भाषा र संस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुवीच छलफल र विचार विमर्श  समेत हुनेछ। 

फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार यो नेपाली गीतसंगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवत नेपालकै ठूलो ईभेन्ट हो । बहुसांस्कृतिक, बहुभाषी संस्कृति  रहेको हाम्रो देशमा सयौँ थरी नाच र गीत रहेका छन् । यसको प्रवर्द्धन, अध्यन अनुसंन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ । 
कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोपहुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको आयोजकले बताएको छ । 

नेपालगन्ज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।  शास्त्रीय संगीत देखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुती रहनेछ । स्थानीय नवप्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् । 

‘देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ ’ अन्तरालका कार्यकारी जयनारायण शाहले भने, ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगन्जमा सिंगो नेपाल झल्किनेछ । ’

प्रतिक्रिया दिनुहोस्