विश्वकै ज्येष्ठ नागरिक नुवाकोटकी बाटुली लामिछानेको निधन
नुवाकोट,माघ १९ । विश्वकै जेष्ठ नागरिकका रुपमा परिचित जिल्लाको ककनी गाउँपालिका वडा ८ कि १२२ वर्षीया बाटुली लामिछानेको निधन भएको छ ।
लामिछानेको शुक्रबार दिउँसो ४ बजे निधन भएको ककनी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष शेषमान तामाङले बताए । दीर्घ उमेर भएकाले बाच्ने आशाले परिवारजनले उपचारार्थ काठमाडौ सम्म पुर्याएको अध्यक्ष तामाङले बताए । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने केहि समय यता अस्वस्थ्य रहेकी थिइन ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उनलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोट बाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो । उनकोचार सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित छन्। दुई छोरी र एक छोराको निधन भइसकेको छ । बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको उमेर नै २५ वर्ष भइसकेको छ ।