हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति



काठमाडौं,माघ २० । साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ । यसअघि तीन हजार फिटसम्म मात्रै उडान अनुमति पाएको बेलुन नेपालले अब पोखराको निश्चित क्षेत्रमा नौ हजार फिटसम्म उडान गर्ने अनुमति पाएको हो ।

बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको लौरुकदेखि चङ्खपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी निरन्तर सम्पर्कमा रहने गरी नौ हजार फिटसम्मको उडान अनुमति पाएको हो ।

उनले भने, “दुई थान हट एयर बेलुनमार्फत बिहान दुई र बेलुका एक उडान गर्दै आएको कम्पनीले थप उचाइको अनुमति पाएको छ । अब पर्यटकले अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र सूर्योदय तथा सूर्यास्त अझ राम्रोसँग देख्न पाउने छन् ।”

प्रतिक्रिया दिनुहोस्