रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री



सिन्धुली,माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन् । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए ।

भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारबाट थालनी भएका जनपक्षी कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्