वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला सम्मानित



काठमाडौं,माघ २० । परशुराम-शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरेका हुन् ।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनः जीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम-शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा.डा.रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता-पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा वि.सं.२०६८ मा उक्त प्रतिष्ठान स्थापना गरेका थिए।

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ । सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान गर्यो । सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा.कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रुपमा रहेको बताए । उनले भने, “प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा.कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्