एक लाखभन्दा बढी गाजावासी हताहत : डब्लुएचओ



जेनेभा,माघ २० । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ ।

यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको ४.३ प्रतिशत हो । जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले गम्भीर परिस्थितिको सामना गर्नुपरेको र सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको बताए ।

“मध्य गाजामा तनाव बढ्दै गएको छ, जसले विद्यमान स्वास्थ्य सुविधाहरूको पहुँचलाई थप कमजोर बनाएको छ,” उनले भने। बिरामी र स्वास्थ्यकर्मी दुवैका लागि अस्पतालहरूमा निरन्तर पहुँचको कमीप्रति गहिरो चिन्ता व्यक्त गर्दै पिपरकोर्नले गाजामा ३६ अस्पतालहरूमध्ये केवल १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेको र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेको बताए ।

जारी द्वन्द्व र शत्रुताले स्वास्थ्य सेवालाई अस्तव्यस्त बनाएको छ । यसले युद्धसँग सम्बन्धित चोटपटक र दीर्घरोग दुवैको पर्याप्त उपचार प्रदान गर्न चुनौतीपूर्ण भएको छ ।“अब कम्तिमा आठ हजार गाजावासीहरूलाई उपचारका लागि रेफर गर्नु पर्ने भएको हामीले अनुमान गरेका छौँ,” पिपरकोर्नले भने ।

तीमध्ये छ हजार जना युद्धमा घाइते हुनुका साथै यसमध्ये कैयौँ गम्भीर घाइते रहेका छन् र उनीहरूमध्ये एउटा सानो अंशलाई मात्र दक्षिणी शहर राफामा सफलतापूर्वक स्थानान्तरण गरिएको उनले बताए ।

पिपरकोर्नले भने,“उत्तरी गाजामा प्रवेशमा कडा प्रतिबन्ध लगाइएको छ भने डब्ल्यूएचओको यस क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पुग्न गरिएका अनुरोधलाई लगातार अस्वीकार गरिएको छ ।”

उनले थपे, “गाजामा रहेका युरोपेली अस्पतालमा २२ हजार मानिसहरूले आश्रय लिएका छन् भने त्यहाँ पनि स्वास्थ्य सामग्रीहरू अपर्याप्त भएका छन् । रोगहरू फैलिने खतरा बढिरहेको छ ।”

स्वास्थ्यकर्मीहरूले बिरामी र उनीहरूका आफ्नै परिवारको हेरचाहमा सन्तुलन कायम गर्न अथाह चुनौतीहरूको सामना गरिरहेका छन् । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् । खान युनिस शहरको अल नासिर अस्पताल एउटा मात्र एम्बुलेन्समा सीमित बनेको छ र बिरामीहरूलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको छ ।

खान यूनिसमा रहेका ४०० बिरामी हेर्न विशेषज्ञको अभावका कारण अस्पतालको पर्याप्त हेरचाह गर्ने क्षमता जोखिममा परेको छ ।

गम्भीर स्वास्थ्य समस्याहरू मानवीय सङ्कट स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर गएको छ । खाद्य असुरक्षा र पानी प्रदूषणले सङ्क्रामक रोगहरूको फैलावटको लागि उर्वर भूमि सिर्जना गरेको छ ।

गाजास्थित डब्लुएचओका प्रतिनिधिले चिन्ताजनक तथ्याङ्कहरू उद्धृत गर्दै भनेका छन्, “दुई लाख ४५ हजारभन्दा बढी श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका घटनाहरू, पाँच वर्षमुनिका बालबालिकाहरूमा पखालाका एक लाख ६० घटनाहरू, र लगभग ७० हजार छाला र अन्य समस्या रहेको देखिएको छ ।”

गाजामा सीमित खाद्यान्न वितरणका कारण कुपोषण एउटा महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ ।

पिपरकोर्नले ३४२ आक्रमणमा ६२७ जनाको मृत्यु भएको र ७८३ जना घाइते भएका छन् । हाल ६१ जना स्वास्थ्यकर्मीलाई हिरासतमा लिइएको छ, जसले पहिलेदेखि नै समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीलाई थप जटिल बनाएको छ ।

डब्लुएचओ गाजास्थित उपशाखाका प्रमुख अहमद दाहिरले खाना र सुरक्षाको खोजीमा हजारौं मानिस राफातर्फ पलायन भइरहेको र खानाको अभावका कारण धेरै दुब्लो र कमजोर देखिएको बताए । बिरामी र घाइतेहरूले पर्याप्त स्वास्थ्य सेवा पाउन सङ्घर्ष गरिरहेका छन् तर वरिपरिको तनावले प्रमुख चिकित्सा सुविधा, बिरामी र स्वास्थ्य सेवा प्रदायकहरूको पहुँचमा बाधा पुर्‍याएको उनले बताए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्