सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली
महोत्तरी,माघ २२ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत उनले बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर सरकारले कुरा गर्न नसकेको उनले चर्चा गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै दुःख पाउने टिप्पणी गरे ।
उनले भने, ‘यो सरकार जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरुसँग भेटदा पनि आँखा जुधाएर कुरा गर्न सकेन ।’ आफूहरु मिसन २०८४ पछि दिगो ढंगले राजनीति गर्न चाहेको उनले बताए । “बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ” अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी गरे।