काठमाडौंमा १ हजार २६ स्मार्ट स्ट्रीट लाइट जडान
काठमाडौं,माघ २३ । काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा १ हजार २६ ओटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ ।
जसअन्तर्गत महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ ओटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ ओटा, कमलपोखरीदेखि गौशालासम्म १८१ ओटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ ओटा, चावहिल–बौद्ध सडक खण्डमा ९९ ओटा बत्ती जडान गरिएको छ । प्रारम्भिक अध्ययनमा यी खण्डमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो ।
महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले स्थलगत आवश्यकताका आधारमा कुनै ठाउँमा जडान गरिएका बत्तीको संख्या घटाइएको बताए । उनका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान गरिएको बताए ।
रातिमा यातायात तथा मानवीय आवागमन सहज बनाउन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरपालिकाले जनाएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरिएको महानगरपालिकाले जनाएको छ ।
११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको उक्त योजनाका लागि २०७९ माघ २४ गते काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको थियो । योजनाको लागतमध्ये ६० प्रतिशत रकम महानगरपालिकाले र ४० प्रतिशत रकम विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो, यसबाट छनोट भएको निर्माण पक्षसँग २०८० वैशाख २५ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८१ वैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
बत्ती जडानका लागि रुट पनि छुट्याइएको छ । महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ । प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।
यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा छ । ‘हामीले काम गर्ने सडक खण्डमा यसअघि सौर्यबत्तीका लागि गाडिएका पोल छन् । ती पोलको पुनःप्रयोग योजना स्वीकृति हुने चरणमा छ । योजना स्वीकृत भएपछि काम थालिनेछ,’ विद्युत प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजालले भने ।
यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान छ । यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैले पुनःप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भएबापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई तिर्नुपर्नेछ । सबै बत्ती जडान गरिसकेपछि बत्तीलाई एउटै प्रणालीमा आवद्ध गरिनेछ ।
यसपछि एउटै स्क्रिनबाट आवश्यकताका आधारमा बत्तीलाई चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिने महानगरले जनाएको छ ।