माल्दिभ्समा सन् २०२४ मा २० लाख पर्यटक भित्रिने !



माले,माघ २३ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले सन् २०२४ मा २० लाख पर्यटक भित्रिन सक्ने बताएका छन् । जारी १९ औं संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उनले उक्त कुरा बताएका हुन् । 

राष्ट्रपति मुइझुले वेलाना अन्तरराष्ट्रिय विमानस्थल (भीआईए)को विस्तारले वर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने अनुमान गरे ।  

माल्दिभ्स सरकारले यस वर्ष २० ओटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टमा दुई हजार ८२७ बेड निर्माण गरिने उनले बताए । 

माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाखभन्दा बढी विदेशी पर्यटक आएका छन् । माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो । 

प्रतिक्रिया दिनुहोस्