अधिकांश वस्तु र सेवाको भाउ महँगियो, मूल्य बृद्धि फेरि सवा ५ प्रतिशत माथि



काठमाडौं,माघ २३ । गत भदौमा एक वर्षकै सबैभन्दा उच्च मूल्यबृद्धिको सामना गरेपछि विस्तारै ओरालो लागेको मुद्रास्फीति दर पुसबाट भने फेरि बढ्न थालेको देखिएको छ । यसले असोज यता बजारभाउ केही सस्तिएको भए पनि पुसदेखि फेरि उस्तै महँगीको मारले छोप्न थालेको देखाउँछ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पुसको तथ्यांक अनुसार यस्तो देखिएको हो ।

मंसिरको तुलनामा पुसमा आउँदा अधिकांश वस्तु र सबै सेवा क्षेत्रको मूल्य बढेको छ । अघिल्लो सालसँग तुलना गर्ने हो भने त घिऊतेल, सागसब्जी र माछा मासुबाहेक सबै खाद्य पदार्थको मूल्य बढेका छन् । सेवा क्षेत्रमा पनि ढुवानी बाहेकका सबै सेवाको मूल्य चुलिएको छ ।

यो पुसमा मसलाको मूल्य ३५.६ प्रतिशत महँगिएको छ । चामल, गहुँ, मकै लगायतका खाद्यान्न र यसका उत्पादनको मूल्य बृद्धि पनि ११.३८ प्रतिशत महँगिएका छन् । दाल तथ तेलहन वस्तुको मूल्य पनि ११ प्रतिशतभन्दा धेरै महँगिएको छ । दूध, अण्डा र फलफूलको मूल्य पनि उसैगरी आकाशिएको छ । चिनिको भाउ मंसिरको तुलनामा घटेको भए पनि अघिल्लो सालको तुलनामा यो पुसमा ७.२९ प्रतिशत महँगो नै रहेको छ ।

रेस्टुरेन्टको बील पनि उस्तै महँगिएको छ । मदिरा र सफ्ट ड्रिङ्क्सको मूल्य पनि उकालो चढेका छन् । सूर्ति, चुरोटको भाउ पनि बढेकै छ । लत्ता कपडाको भाउ ५ प्रतिशत हाराहारी महँगिएका छन् । घर, घर बाहल र घरायसी सामानको भाउ ४ प्रतिशत भन्दा धेरै महँगिएको छ । फिल्म हलदेखि अन्य मनोरञ्जन र सांस्कृतिक सेवाको मूल्य त १३ प्रतिशत हाराहारी महँगिएका छन् ।

शिक्षामा गर्नु पर्ने खर्च पनि उस्तै महँगिएको छ । शिक्षाको तुलनामा कम भए पनि स्वास्थ्य खर्च समेत महँगिएकै छ । फर्निचर, घरायसी उपकरण, सञ्चार लगायतका वस्तु र सेवा पनि महँगिएका छन् ।

राष्ट्र बैंकका अनुसार हिमाली क्षेत्रका मानिसले आफ्नो कुल वार्षिक खर्चको झण्डै ६० प्रतिशत खानपिनमा नै खर्चने गरेका छन् । तर काठमाडौं उपत्यकामा घरपरिवारको ६० प्रतिशतभन्दा धेरै बजेट गैरखाद्य एवम् सेवा क्षेत्रमा खर्च हुन्छ । सिंगो देशले वर्ष भरीमा गर्ने कुल खर्चको सबैभन्दा ठूलो हिस्सा घर भाडामा खर्च गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्