गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन



गुल्मी,माघ २४ । गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । सस्पेन्सन बृज डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र सिर्जनशील सामुदायिक विकास केन्द्रले हेर्ने गरी जिल्लाका विभिन्न स्थानमा १४ वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ । सस्पेन्सन बृज डिभिजन कार्यालयले हेर्ने गर यहाँ दुई वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ । जसमा मालिका गाउँपालिकाको निस्तीखोला चुत्राबोट लाकुरी जोड्ने झोलुङ्गे पुलको जग खन्ने काम भइरहेको सस्पेन्सन बृज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिए ।

३७० मिटर लम्बाई भएको निर्माणाधीन यो झोलुङ्गे पुल एक करोड ८० लाख लागतमा निलगिरी निर्माण सेवा प्रालिसँग २०७८ असोज १३ गते सम्झौता भएअनुसार २०८० चैत ४ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । रेसुङ्गा नगरपालिका–२ उदिनढुङ्गा रैदि खोला रेसुङ्गा नगरपालिका–७ साखिने जोड्ने झोलुङ्गे पुलको सिभिल कार्य सम्पन्न भएको छ । स्टिल पार्टस् ढुवानी बाँकी रहेको उनले बताए । ३७० मिटर लम्बाई भएको निर्माणाधीन यो झोलुङ्गे पुल एक करोड ८४ लाख २४ हजार लागतमा निलगिरी निर्माण सेवा प्रालिसँग २०७८ असोज १३ गते सम्झौता भएअनुसार २०८० चैत ४ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ ।

चन्द्रकोट र गुल्मीदरबारलाई जोड्ने गरी रामपुर टारी झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । २०६ मिटर लम्बाई भएको यो झोलुङ्गे पुल निर्माणका लागि बिएलटी कन्स्ट्रक्सन प्रालि कोहलपुर बाँकेसँग एक करोड ६५ लाख लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सस्पेन्सन बृज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर बस्यालले बताए । यस कार्यालयले हेर्ने गरी गुल्मी जिल्लाका ६ वटा झोलुङ्गे पुल रातो किताबमा समावेश रहेका छन् । जसको डिपिआर गर्न बाँकी छ । मुसिकोट नगरपालिका–५, आँपचौर गिदिखोला डाँडापोखरी हात्तीगैडा ३४० मिटर लम्बाई भएको झोलुङ्गे पुल बहुवर्षीय ठेक्का सहमतिका लागि पेश भएको छ । यो पुलका लागि यस वर्षको बजेट ५० लाख रुपियाँ रहेको छ ।

लामडाँडा रेसुङ्गा नगरपालिका–५ र पालुखा इस्मा गाउँपालिका–२ जोड्ने झोलुङ्गे पुल, सेरा पाखेडाँडा मुसिकोट नगरपालिका– ७ झोलुङ्गे पुल, बडागाउँ वामी जोड्ने झोलुङ्गे पुल र ददल्का दाङसिंह काउछे मुसिकोट नगपालिका–९ र बाग्लुङ गल्कोट– ११ लाई जोड्ने झोलुङ्गे पुल प्रत्येकको यस वर्षको बजेट एक÷एक लाख रुपियाँ रहेको छ । निपाने बाझकटेरी गुल्मी झोलुङ्गे पुलको यस वर्षको बजेट पनि एक लाख रुपियाँ रहेको छ । यो झोलुङ्गे पुलको डिपिआरका लागि एनएसइएस जार्स जेभि काठमाडौले सम्झौता गरेको कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार विकास कार्यालयले हेर्ने गरी यस जिल्लामा तीन वट झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ । जसमा सत्यवती गाउँपालिका– ६ र रुरुक्षेत्र गाउँपालिका– ५ लाई जोड्ने चम्दी झोलुङ्गे पुलको काम तीव्र रुपमा अगाडि बढिरहेको कार्यालयका इन्जिनियर सन्दीप पछाईले जानकारी दिए । १५९ मिटर लम्बाई भएको निर्माणाधीन यो झोलुङ्गे पुल ८६ लाख दुई हजार ९९९ लागतमा डि. गौतम कपुर जेभीसँग २०८० जेठ २८ गते सम्झौता भएअनुसार २०८१ जेठ २९ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । फाउन्डेसनको काम सकिएसँगै झण्डै ३० प्रतिशत काम सकिएको इन्जिनियर सन्दीप पछाईले बताए ।

रुरुक्षेत्र गाउँपालिका १ र २ लाई जोड्ने ३४२ मिटर लम्बाई भएको गेलपोखरी बेसिकाचौर झोलुङ्गे पुलको ३० प्रतिशत निर्माण कार्य सकिएको छ । दुई करोड १५ लाख ९९ हजार १२३ रुपियाँ ७५ पैसा लागतमा रामकृष्ण एस आर जेभीसंग २०८० असोज २५ गते सम्झौता भएअनुसार २०८१ असोज २४ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । धुर्कोट गाउँपालिका– ३ हाडहाडेमा ठुली डाँडादेखि कुमाल डाँडा जोड्ने ३०० मिटर लम्बाई भएको झोलुङ्गे पुलको निर्माण कार्य अझै सुरु भएको छैन् । दुई करोड १३ लाख ७३ हजार १२३ रुपियाँ ७५ पैसा लागतमा रामकृष्ण एस आर जेभीसँग २०८० असोज २५ गते सम्झौता भएअनुसार २०८१ असोज २४ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ ।

त्यस्तै, स्थानीय तहअन्तर्गत क्षेत्रगत कार्यक्रममार्फत सञ्चालित तथा सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीको सामाजिक र प्राविधिक सहयोगमा चालू आर्थिक वर्षमा चार वटा झोलुङ्गे पुल र पाँच वटा ट्रस पुल निर्माण भइरहेको सिर्जनशील सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक डिल्लीराज खनालले बताए । उपभोक्ता समिति मार्फत निर्माण हुने यी पुलमा दुई प्रतिशत श्रमदान, स्थानीय तहको १३ प्रतिशत नगद र क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत नगद बजेट खर्च हुन्छ । कालीगण्डकी गाउँपालिका– ५ मा ७५ लाख १९ हजार ११४ रुपियाँ ४९ पैसा अनुमानित लागतमा ६५ मिटर लम्बाईको छहराखोला झोलुङ्गेको निर्माण हुनेभएको छ ।

कार्यक्रम संयोजक खनालका अनुसार चन्द्रकोट गाउँपालिका– ५ मा ४२ लाख ४३ हजार ८५ रुपियाँ ५० पैसा अनुमानित लागतमा ७६ मिटर लम्बाईको छरछरे झोलुङ्गे पुल निर्माण हुनेछ । मुसिकोट नगरपालिका– ९ मा ३१ लाख ७९ हजार ३७ रुपियाँ ७३ पैसा अनुमानित लागतमा ३२ मिटर लम्बाईको दाङ्गसिङ फाँट ट्रस पुल निर्माण हुनेछ । रुरुक्षेत्र गाउँपालिका – १ र २ लाई जोड्ने ४० लाख ३८ हजार ९२८ रुपियाँ ८७ पैसा अनुमानित लागतमा ३२ मिटर लम्बाईको ताल खोला ट्रस पुल निर्माण हुनेछ । धुर्कोट गाउँपालिका– ७ र मालिका गाउँपालिका– ६ लाई जोड्ने ३३ लाख १० हजार ४३९ रुपियाँ ७७ पैसा अनुमानित लागतमा ५२ मिटर लम्बाईको फुलबारी हर्रे झोलुङ्गे पुल निर्माण हुने उनले बताए ।

मालिका गाउँपालिका –८ मा ३० लाख ८६ हजार १४९ रुपियाँ २८ पैसा अनुमानित लागतमा ३२ मिटर लम्बाईको साहुखोला ट्रसपुल निर्माण हुनेछ । मदाने गाउँपालिका– १ मा २७ लाख ४६ हजार ५३८ रुपियाँ ०९ पैसा अनुमानित लागतमा २८ मिटर लम्बाईको चिप्लेढुङ्गा ट्रस पुल निर्माण हुनेछ । इस्मा गाउँपालिका– २ र रेसुङ्गा नगरपालिका– ४ लाई जोड्ने ६० लाख ५६ हजार ७३३ रुपियाँ ०६ पैसा अनुमानित लागतमा ६३ मिटर लम्बाईको स्याला चिसाखोला झोलुङ्गे पुल निर्माण हुनेछ । गुल्मीदरबार गाउँपालिका– १ र २ लाई जोड्ने २५ लाख ३२ हजार ८८३ रुपियाँ ४५ पैसा अनुमानित लागतमा २४ मिटर लम्बाईको आराङटुङडाँडा थालढुङ्गा वेल्डाँडा ट्रस पुल निर्माण हुने सिर्जनशील सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्