कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री



काठमाडौं,माघ २६ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै चार महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

त्यसैगरी माओवादी केन्द्रका राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाई तथा उर्जामन्त्रीमा नियुक्त गरेका छन् । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका छन् ।

कांग्रेसबाट मन्त्री नियुक्त सुनुवार ओखलढुंगा क्षेत्र नं १, खत्री उदयपुर २ ९२० र राज्यमन्त्री थापा धनकुटाकी समानुपातिक प्रदेश सांसद छन् । त्यसैगरी माओवादीबाट मन्त्री बनेका बुर्जा मगर उदयपुर क्षेत्र नं २ (१) र कार्की सङ्खुवासभा १ का प्रदेश सांसद छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज नै प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्