बाघले मकवानपुरका कृषकको १९ वटा खसी–बाख्रा मार्‍यो



मकवानपुर,माघ २८ । मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बाघले बकैया–६, सुधास्थित स्थानीयका खसी बाख्रा मारेको हो ।

स्थानीय कृषकका तीन घरको १९ वटा खसी बाख्रा बाघले मारेको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले बताए । जसबाट लाखौं रुपियाँ बराबरको नोक्सान  भएको उनले बताए । 

आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीन कृषकका १९ वटा खसीबाख्रा बाघले मरेको हो । वडाध्यक्ष  भोम्जनका अनुसार स्थानीय डम्बरबहादुर बोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।

बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको भोम्जनको भनाइ छ । गत वर्ष पनि बाघले पशु मारेको उनले जानकारी दिए । दैनिक जीवन गुजाराका लागि वर्षौँदेखि पाल्दै आएका खसी बाख्रा बाघले मारिदिँदा स्थानीय चिन्तित बन्नुका साथै त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्