ममता काफ्ले भट्ट हत्या प्रकरणमा श्रीमान् नरेश दोषी ठहर



भर्जिनिया,कात्तिक २५ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा बस्दै आएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। जूरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शव अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो।

सन् २०२४ जुलाईदेखि बेपत्ता ममताको शव हालसम्म फेला परेको छैन। तर, डीएनए परीक्षण, रगतका दाग, डिजिटल प्रमाण, निगरानी क्यामेराका दृश्य तथा अभियुक्तको गतिविधिसम्बन्धी प्रमाणका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो।

अदालतमा नरेशले ममताको मृत्यु आत्महत्याबाट भएको दाबी गर्दै आफूले शव टुक्र्याएर विभिन्न स्थानमा फालेको बताएका थिए। तर, जूरीले उनको दाबी अस्वीकार गरेको छ।

ममता र नरेशबीचको वैवाहिक सम्बन्ध तनावपूर्ण रहेको तथा नरेशको इन्टरनेट खोजी इतिहास, फोन रेकर्ड र अन्य गतिविधिलाई अभियोजन पक्षले महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेको थियो। प्रतिरक्षा पक्षले भने प्रमाणले हत्या पुष्टि गर्न नसकेको दाबी गरेको थियो।

शव फेला नपरे पनि आधुनिक फरेन्सिक विज्ञान र डिजिटल प्रमाणको आधारमा हत्या प्रमाणित भएको यो प्रकरणलाई ‘नो–बडी मर्डर केस’ का रूपमा चर्चामा ल्याइएको छ।

ममताको हत्या प्रकरणले अमेरिका र नेपालका नेपाली समुदायमा गहिरो चासो उत्पन्न गरेको थियो। दोषी ठहर भएका नरेश भट्टको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ मा सुनुवाइ हुने तय भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्