दिदीबहिनी नहुनेका लागि भाइटीकामा खुल्यो बालगोपालेश्वर मन्दिर



काठमाडौं,कात्तिक २५। दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजनका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बुधबार बिहानैदेखि भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको छ।

यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् तथा गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले जानकारी दिए।

उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे।

विसं २०३५ पछि बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाका दिन खुल्न थालेको हो। विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त मन्दिर पुनर्निर्माणपछि विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो।

भाइटीकाका दिनलाई नेवार समुदायले किजापूजाका रूपमा पनि मनाउने गर्छन्। कुल परम्पराअनुसार कतिपयले भाइटीकाकै दिन र कतिपयले अघिल्लो दिन किजापूजा गर्ने प्रचलन रहेको छ। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार मंगलबार नै किजापूजा मनाएका छन्।

प्रतिक्रिया दिनुहोस्