११ लाख ३० हजार व्यक्ति व्यापारमा संलग्न



काठमाडौं,माघ २९ । ११ लाख ३० हजार जना देशको थोक तथा खुद्रा व्यापार क्षेत्रमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण’ले देशभरिमा करीब ५ लाख व्यापारिक कारोबार गर्ने संस्थामा ठूलो संख्यामा कामदार संलग्न रहेको देखाएको छ । 

प्रतिवेदनअनुसार देशमा ४ लाख ९८ हजार व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् । यीमध्ये ६८ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएका छन् । तर, ३२ प्रतिशत व्यवसाय कतै पनि दर्ता छैनन् । मधेश र कोशीमा दर्ता नभई सञ्चालन हुने व्यवसायको अनुपात धेरै छ ।

प्रतिवेदनले यी व्यवसायमा संलग्नमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेको देखाएको छ । यी व्यवसायमा १९ दशमलव ४२ प्रतिशतले ज्याला र तलब लिने गरी संलग्न रहेको र बाँकी आफ्नै वा पारिवारिक व्यवसायका रूपमा संलग्न रहेको अध्ययनले देखाएको छ । 

प्रतिवेदनअनुसार यी व्यवसायमा ७४ प्रतिशत पुरुषको र २६ प्रतिशत महिलाको स्वामित्व छ । प्रतिवेदनले व्यापारमध्ये सर्वाधिक धेरै नाफा (ट्रेड मार्जिन) मोटर तथा मोटरसाइकल व्यापार तथा मर्मतसम्भारमा हुने देखाएको छ । यस क्षेत्रमा सरदरमा २४ दशमलव २ प्रतिशत नाफा छ । त्यसैगरी, थोक व्यापारमा १३ प्रतिशत र खुद्रा व्यापारमा १८ दशमलव २८ प्रतिशत नाफा छ । 

मोटरको व्यापारमा सर्वाधिक धेरै नाफा बागमती प्रदेशमा २८ दशमलव ५७ प्रतिशत छ । प्रादेशिक रूपमा हेर्दा समग्र व्यापारमध्ये गण्डकी क्षेत्रका व्यापारीले २० प्रतिशत नाफा गर्ने गरेको भेटिएको छ । त्यसैगरी, मधेश प्रदेशमा व्यापारीले १९ दशमलव ३४ प्रतिशत र बागमतीमा १८ दशमलव ३७ प्रतिशत नाफा गर्ने गरेको भेटिएको छ । सर्वेक्षणअनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट जम्मा रू. २.४ अर्ब अन्य अम्दानी भएको देखिन्छ र प्रतिप्रतिष्ठान औसत अन्य अम्दानी रू. ६९ हजार, व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा रू. १३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च रू. २६४ हजार देखिएको छ ।तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीका अनुसार सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुको खरीद तथा विक्री गर्दा हुने व्यापार अन्तर (ट्रेड मार्जिन) अनुमान र व्यापारिक प्रतिष्ठानहरूको रोजगारी, तलब/ज्याला, पूँजी निर्माणको तथ्यांक आकलन गर्नु थियो । यसबाट प्राप्त नतिजाहरूको विश्लेषणबाट व्यापार क्षेत्रको विद्यमान अवस्थाको चित्रण गरिएको र सरकारलाई वाणिज्य नीतिमा सामयिक सुधार र परिमार्जन गर्न वस्तुनिष्ठ आधार तयार हुने उनको भनाइ छ । 

तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीका अनुसार सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुको खरीद तथा विक्री गर्दा हुने व्यापार अन्तर (ट्रेड मार्जिन) अनुमान र व्यापारिक प्रतिष्ठानहरूको रोजगारी, तलब/ज्याला, पूँजी निर्माणको तथ्यांक आकलन गर्नु थियो । यसबाट प्राप्त नतिजाहरूको विश्लेषणबाट व्यापार क्षेत्रको विद्यमान अवस्थाको चित्रण गरिएको र सरकारलाई वाणिज्य नीतिमा सामयिक सुधार र परिमार्जन गर्न वस्तुनिष्ठ आधार तयार हुने उनको भनाइ छ । 

राष्ट्रिय आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिक रूपमा सञ्चालन भएका ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानहरूको सूचीबाट स्तरीकृत नमूना छनोट विधिमार्फत १८ हजार व्यापारिक प्रतिष्ठान छनोट गरिएको र त्यसमध्ये १५ हजार २९९ बाट तथ्यांक संकलन भएको रेग्मीले बताए ।

पहिलोपटक २०६५/६६ मा मुलुकभित्र हुने वस्तुहरूको थोक तथा खुद्रा व्यापारको क्षेत्रबारे अध्ययन गरी आधारभूत तथ्यांक उपलब्ध गराउन यस्तै खालको सर्वेक्षण भएको थियो । दोस्रो सर्वेक्षण २०७८/७९ मा गरिएको थियो । त्यसको नतिजा बल्ल आएको छ ।

प्रतिक्रिया दिनुहोस्