करिब दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैंकको ट्याग !



इनरुवा,माघ २९ । सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।  

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो । 

त्यो एक करोड ८२ लाख ५१ हजार रुपियाँ रहेको जानकारी प्रहरीले दिएको छ । बरामद गरेको नक्कली नोटको बण्डलमा  एनआइसी बैँकको लोगोसहितको कागजले र्याप गरेको देखिएको छ । 

एनआइसी एसिया बैँकको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैँकबाट बाहिर गएको हो कि भन्ने आशंका गर्न सकिन्छ  । तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको  एनआइसी एसिया बैँक इनरुवा शाखाले जनाएको छ ।

बैँकका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैंकमा आउने बित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताउछ्न । 

नक्कली पैसा बनाउने समूहले बैंकको लोगो प्रयोग गरी नक्कली कागत बनाएर प्रयोग गरेको उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्