अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, गरिबीको दर सुदूरपश्चिममा सर्वाधिक



काठमाडौं,फागुन १ । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार यहाँ सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । 

सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ ।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए ।  

सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा गरिबीको दर सबैभन्दा बढी छ । सर्वेक्षणअनुसार सुदुरपश्चिम प्रदेशमा गरिबीको दर ३४ दशमलव १६ प्रतिशत छ । यो दर कर्णाली प्रदेशमा २६ दशमलव ६९, लुम्बिनी प्रदेशमा २४ दशमलव ३५ प्रतिशत र मधेश प्रदेशमा २२ दशमलव ५३ प्रतिशत छ । यसैगरी, गण्डकी प्रदेशमा गरिबीको दर ११ दशमलव ८८ प्रतिशत, बाग्मती प्रदेशमा १२ दशमलव ५९ प्रतिशत र कोशी प्रदेशमा १७ दशमलव १९ प्रतिशत छ । रासस

प्रतिक्रिया दिनुहोस्