हेटौंडा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा



काठमाडौं,फागुन २ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्त्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सो सबस्टेशन निर्माणाधीन छ । हेटौंडा सबस्टेशनमा ४००–२२० केभी, २२०–१३२ केभी र १३२–११ केभी सबस्टेशन निर्माणाधीन छन् ।

एक महीनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेशनका उपकरणको जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेका छन् । सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति गरिनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ ।

निर्माण अनुगमनमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समयमा सबस्टेशनको काम सन्तोषजनक देखिएको बताए । कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । घिसिङले एक महीनाभित्रमा सबस्टेशन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिए ।

सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी सबस्टेशन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००–२२० केभी हेटौंडा सबस्टेशनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । त्यसको क्षमता ९ सय ४५ एमभिए छ । धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेशनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौंडा सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००–२२० केभीका सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौंडा र इनरुवा सबस्टेशन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा २२०–१३२ केभी सबस्टेशन निर्माण गरिएको हो ।

सबस्टेशनमा १६०–१६० एमभिएका दुई पावर ट्रान्सफर्मर छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न २०७५ पुसमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभीका सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा शुरू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्