नुवाकोटको शैक्षिक क्षेत्रमा ‘रुम टु रिड र रुडेक नेपाल’को सहयोग अतुलनीय- अध्यक्ष श्रेष्ठ



नुवाकोट,फागुन २ । नुवाकोटको शैक्षिक क्षेत्रमा ‘रुम टु रिड र रुडेक नेपाल’को सहयोग अतुलनीय रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् । बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्दि गणेश आधारभूत विद्यालयको पुस्तकालय उद्घाटन समारोहमा मन्तव्यको क्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

सहयोगी संस्था दुबैले बालबालिकाको पठन सीप विकासका लागि विभिन्न कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले भने-‘सिकाइ अभ्यासका लागि अहोरात्र खट्ने संस्थाका पदाधिकारीहरु धन्यवादका पात्र हुनुहुन्छ, तपाईंहरुको मेहनत र हाम्रो सहकार्यले सामुदायिक विद्यालयको गुणस्तर अब्बल बन्नेमा विश्वस्त छु।’

अध्यक्ष श्रेष्ठले भने- ‘अभिभावकज्यूहरु! बोर्डिङ स्कुल भनेर ज्यादा आयभार ब्यहोर्नुको सट्टा सामुदायिक विद्यालय तर्फ फर्कनुस, अब सामुदायिक विद्यालयमा पनि कम्प्युटर कक्ष, पुस्तकालय, दिवा खाजा, तालिम प्राप्त योग्य शिक्षक आइसकेका छन् । किन अन्यत्र भौतारिनुहुन्छ?’ कार्यक्रममा रुम टु रिडका  प्रतिनिधि तथा वरिष्ठ प्रशिक्षक बटुराम भण्डारी ले पछिल्लो समय बालबालिकाको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेको बिषयमा सबै गम्भीर हुनुपर्ने बताए । उनले यसप्रकारको साझा समस्या न्यूनीकरणका लागि संस्थाले भाषा शिक्षक छनौट, पुस्तकालय व्यवस्थापन जस्ता गतिविधिलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले समय सापेक्ष पढाई गतिविधिले बालबालिकाको शैक्षिक, सामाजिक र ब्यबहारिक पक्षमा क्रमश विकास हुने बताउदै सहकार्यका लागि लिखु गाउँपालिकालाई धन्यवाद व्यक्त गरे। त्यस्तै रुडेक नेपालका कार्यकारी निर्देशक दुर्गा भेटुवालले पुस्तकालय र पुस्तकालयको महत्त्वबारे प्रकाश पारिन् । उनले आधारभूत तहका नानिबाबुको पढ्ने सीप, पढ्ने बानी र नानिहरुलाई जीवन उपयोगी काम सिकाउने लक्ष्य रहेको बताइन् ।

नुवाकोटमा मात्र संस्थाले हाल ७८ वटा विद्यालयमा नमुना प्रदर्शन ढाचामा कार्यक्रम सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिसकेको छ भने स्थानीय सरकारको सहकार्यमा ४४ वटा विद्यालयमा कार्यक्रम संचालन गरिरहेको छ। संस्थाले साना बालबालिकालाई पठन सीप र ठूला बालबालिकालाई साक्षरता कार्यक्रम र छात्रा शैक्षिक कार्यक्रम लगायतको गतिविधि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्