माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, आकार घटाइयो

काठमाडौं,फागुन ३ । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनले केन्द्रीय कमिटी घटाउने निर्णय गरेको हो ।
विधान अधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताए ।
माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ जना छन् । केन्द्रीय कमिटीको आकार ठूलो भएको भन्दै चर्को आलोचना भइरहेको बेला विधान मस्यौदा कार्यदलले १५१ सदस्यको प्रस्ताव गरेको थियो ।
अध्यक्ष प्रचण्डले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संशोधित विधान प्रस्तुत गरेका छन् । विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए ।