ललिता निवास जग्गा प्रकरण : पूर्वउपप्रधानमन्त्री गच्छदारसहित तीन मन्त्री र पूर्वसचिव अधिकारीलाई सफाइ, को को भए दोषी ठहर ?



काठमाडौं,फागुन ४ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । 

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरूलाई सफाइ दिँदै भूमाफिया भनिने रामकुमार सुवेदी र शोभाकान्त ढकाललगायतलाई दोषी ठहर गरेको छ । 

दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलगायत छन् । उनीहरूलाई २ वर्ष कैद सजाय तोकिएको छ । उनीहरूलाई ९ करोड रुपैयाँ जरिवाना  दामासाहीले तिराउने फैसला भएको छ ।

त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने अदालतले ठहर गरेको छ ।

उक्त प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात  पनि दोषी ठहर भएका छन् । उनीहरूसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । उनीहरूलाई २ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरूबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ बिगो जफत हुने विशेष अदालतको फैसला छ ।

चार वर्षअघि दायर मुद्दामा २३ दिनसम्म निरन्तर सुनुवाइपछि विशेष अदालतले बिहीवार फैसला सुनाएको हो । 

प्रतिक्रिया दिनुहोस्