जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण



टोकियो,फागुन ५ । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।

नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्नसक्छ ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भन्नुभयो, “म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइन र मैले कहिल्यै पनि यति राहत महसुस गरेको थिइन ।

जापानले गत महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौँ देश बनेको छ । दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे प्रक्षेपण गरिएको एच–थ्री प्रक्षेपण गरिएको थियो ।

एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृतरूपमा काम गरेको र रकेटले यसलाई अन्तरिक्षको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुसी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो ।

जाक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्त रूपमा विकास गरिएको एच–थ्री सन् २००१ मा सुरु भएको एच–आईआईए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो ।

प्रतिक्रिया दिनुहोस्